जनचेतनामूलक कार्यक्रमसहित ‘विश्व बाघ दिवस’ मनाइदैँ, संरक्षणको सफलतासँगै व्यवस्थापन चुनौती बढ्दै

काठमाडौँ- विश्वभर जुलाई २९ अर्थात् साउन १३ गते ‘विश्व बाघ दिवस’ विविध जनचेतनामूलक कार्यक्रमसहित मनाइन्छ। सन् २०१० मा रुसको सेन्टपिटर्सबर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनले घोषणा गरेपछि नेपालले २०६७ सालदेखि बाघ दिवस मनाउँदै आएको हो। नेपालमा पछिल्लो समय बाघ संरक्षणका क्षेत्रमा उल्लेखनीय सफलता हासिल भएको छ। सन् २००९ मा १२१ रहेको बाघको संख्या सन् २०२२ को गणनाअनुसार ३५५ पुगेको छ। संरक्षणमा सफलता पाइए पनि बाघ व्यवस्थापन र मानव–बाघ द्वन्द्वका विषयमा चुनौती बढ्दै गएको छ।

बाघको संख्या वृद्धिसँगै पूर्वाधार निर्माण, चोरीसिकारी, बासस्थानको घट्दो गुणस्तर, र मानवबस्तीमा बाघको प्रवेशले समस्या सिर्जना गरिरहेको छ। बाघबाट आक्रमणमा परेर स्थानीय मानिस र चौपायाको ज्यान जाने क्रम बढेको छ। हालसम्म १८ वटा समस्याग्रस्त बाघ विभिन्न निकुञ्ज र चिडियाखानामा खोरमा राखिएका छन्। यस्ता बाघको हेरचाह र उपचारमा राज्यले वार्षिक रूपमा ठूलो बजेट खर्च गर्नुपरेको छ। बाघको दीर्घकालीन व्यवस्थापनका लागि टाइगर जु निर्माणदेखि लिएर मित्र राष्ट्रलाई उपहारस्वरूप हस्तान्तरण गर्ने जस्ता विकल्पमाथि बहस सुरु भएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, डब्लुडब्लुएफ नेपाल, एनटिएनसी र जेडएसएलको अध्ययनअनुसार नेपालको वातावरणीय वहन क्षमता अनुसार बाघको संख्या करिब ४०० सम्म धान्न सक्ने बताइएको छ। तर, संरक्षण क्षेत्रको गुणस्तर, आहारा, पानीको स्रोत, र बासस्थानको अवस्था सुधार नगरी थप वृद्धि सम्भव नहुने विज्ञहरूले बताएका छन्। वन विज्ञ डा. भगवानराज दाहालका अनुसार संख्यामा मात्र नभई बाघको गुणस्तरीय बासस्थानमा ध्यान दिनु आवश्यक छ।

मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि स्थानीय समुदायलाई घाँसदाउरा र चौपाया चराउन वैकल्पिक उपाय, सीपमूलक तालिम, तथा जीविकोपार्जनका अवसर उपलब्ध गराउनु आवश्यक देखिन्छ। वन विज्ञ डा. चिरञ्जीवी पोखरेल र डा. घनश्याम गुरुङले बाघलाई समस्या होइन, सम्भावना र सम्पदाको रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले सहअस्तित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिएका छन्। यस वर्षको बाघ दिवसमा विज्ञ र सरोकारवालाहरूले बाघ संरक्षणमा भएका सफलतालाई संस्थागत गर्दै व्यवस्थापनको चुनौती समाधान गर्न साझा रणनीति अपनाउनु पर्नेमा जोड दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्