काठमाडौँ – मुलुकका विभिन्न २५ जिल्लामा आज बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। प्रभावित जिल्लाका खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार बाढीको मध्यम जोखिम रहेका जिल्ला दोलखा, सिन्धुपाञ्चोक, इलाम, झापा, सोलुखुम्बु, संखुवासभा, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन र सिन्धुली हुन्। यस्तै नवलपरासी पूर्व र पश्चिम, लमजुङ, रुकुम पूर्व र पश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट र कैलालीमा पनि जोखिम रहेको जनाइएको छ।
हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मध्यम वर्षा भइरहेको छ। दिउँसो गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा आज भीषण वर्षा हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। महाशाखाका अनुसार आज राति पनि गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही ठाउँमा तथा तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तो परिस्थितिमा बाढीको जोखिम अझै रहन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।







