प्रधानमन्त्री ओलीको गुनासो, केही चित्त नबुझ्नासाथ अधिनायकवाद भनिन्छ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान लोकतान्त्रिक व्यवस्थामा चित्त नबुझेका कुरा अधिनायकवाद भनेर आरोप लगाउने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ समर्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र आइसकेपछि अब लडाइँ नभई सुधारका निम्ति सुझाव दिनुपर्ने अवस्था आएको उल्लेख गरे।

“अब त सुधारका निम्ति सुझावका कुरा हुन्,” प्रधानमन्त्री ओलीले भने, “दिनैपिच्छे आफूलाई केही चित्त नबुझ्यो भने अधिनायकवाद भनिन्छ, तर अधिनायकवाद के हो भन्ने कुरा गोलघर बसेकालाई थाहा हुन्छ।” प्रधानमन्त्री ओलीले अधिनायकवादको वास्तविक अनुभव आफूहरुले पुरानो पुस्तामा भोगेको भन्दै त्यसबेलाको पीडा स्मरण गरे। उनले भने, “नेल, हत्कडी, कालकोठरी, सुन्निएको नलिखुट्टा, फलामको घाउ… त्यो सब हामीले देखेको हो। त्यसैले अधिनायकवादको परिभाषा हामीले प्रत्यक्ष अनुभूत गरेका छौं।”

उनले वर्तमान लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता र खुला आलोचना सहज भएको र त्यसको मूल्य बुझ्न अघिल्लो पुस्ताको योगदान सम्झनुपर्ने बताए। “आज लोकतन्त्र आइसकेको छ, सहज छ,” उनले भने, “यसको मूल्य बुझ्न अघिल्लो पुस्तालाई धन्यवाद दिनुपर्छ।” कार्यक्रममा प्रधानमन्त्री ओलीले बीपी कोइरालालाई नेपालमा मात्र नभएर भारतमा समेत समाजवादको मार्गदर्शक व्यक्तित्वको रूपमा स्मरण गर्दै नेपाली र भारतीय समाजवादीबीचको भावनात्मक सम्बन्धको जड त्यसैमा रहेको बताए।

ओलीको भनाइले समसामयिक राजनीतिक बहसमा अभिव्यक्ति र आलोचनाको सीमा, लोकतन्त्रको अभ्यास र अतीतका अनुभवबारे पुनः विमर्श सुरु गराउने देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्