सुर्खेतमा पूर्वसैनिकद्वारा श्रीमतीको हत्या, सैतान देखिएको बयान

काठमाडौं- सुर्खेतको वीरेन्द्रनगर–१३ करेखोलामा पूर्वसैनिक दानसिंह ठाडामगरले आफ्नै श्रीमतीको हत्या गरेका छन्। आइतबार बिहान सुतिरहेकी ४१ वर्षीया रविना थापालाई ४२ वर्षीय ठाडामगरले काठको टुक्राले टाउकोमा हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार घटना लगत्तै ठाडामगरले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरी हत्या गरेको जानकारी दिएका थिए। घटनापछि वडा नम्बर १३ का वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई समेत फोन गरी प्रहरीको नम्बर मागेका उनले तत्कालीन अवस्थामा हत्या गरेको भने उल्लेख गरेका थिएनन्।

वडाध्यक्ष कोइरालाका अनुसार ठाडामगरले बिहान करिब २:१५ बजे फोन गरी प्रहरीको नम्बर मागेका थिए। ‘श्रीमती मारेको भन्ने कुरा उनले मलाई भनेनन् तर छोराछोरी र प्रहरीलाई भने म मानेँ भनेका रहेछन्,’ कोइरालाले बताए। शनिबार राति खाना खाएर दम्पती एउटै ओछ्यानमा पल्टिएका थिए। रविना मोबाइल चलाउँदै गर्दा निदाएकी थिइन्। त्यसपछि ठाडामगरले खाटको खुट्टा बनाउन राखिएको काठ प्रयोग गरी श्रीमतीको टाउकोमा हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि नगर प्रहरी र करे खोला प्रहरी चौकीबाट टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाका अनुसार शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल लगिएको र ठाडामगरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ।

वडाध्यक्षका अनुसार ठाडामगर नेपाली सेनाबाट अवकाशप्राप्त हुन्। उनका एक छोरा दुबईमा र एक छोरी जापानमा रहेका छन् भने अर्की छोरी सुर्खेतमै छन्। विगतमा मदिरा सेवन गर्ने गरेको भए पनि पछिल्लो समय उनी संयमी बनेको जानकारी वडाध्यक्ष कोइरालाले दिएका छन्। यद्यपि, श्रीमतीको हत्या किन गरे भन्ने बारे ठोस कारण खुल्न सकेको छैन। प्रारम्भिक बयानमा ठाडामगरले ‘सैतान देखेपछि’ हत्या गरेको बताएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। मानसिक स्वास्थ्यसम्बन्धी जाँच आवश्यक हुनसक्ने आशंका पनि उठ्न थालेको छ। प्रहरीले ठाडामगरलाई नियन्त्रणमा लिएर कर्तव्यज्यान मुद्दामा अनुसन्धान अघि बढाइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्