काठमाडौं – रामेछाप जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकाबाट २०८१ सालमा एसईई परीक्षा दिने विद्यार्थीमध्ये सबैभन्दा धेरै जिपीए ल्याउने विद्यार्थी मिकमार घिसिङ सम्मानित भएका छन्। नेकपा (माओवादी केन्द्र) दोरम्बा सैलुङ गाउँपालिका–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी घिसिङलाई सम्मान गरेको हो। त्यस्तै, गाउँपालिकाभरि रहेका विद्यालयमध्ये सबैभन्दा बढी जिपीए ल्याउने विद्यालय कालिका माध्यमिक विद्यालयलाई पनि सम्मान गरेको हो।
२०८१ सालमा एसईई परीक्षा दिई २०८२ मा सार्वजनिक भएको नतिजामा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरू र विद्यालयलाई सम्मान गरेको सम्पर्क समन्वय समितिका अध्यक्ष होमबहादुर नगरकोटीले जानकारी दिए। यससँगै दोरम्बा सैलुङ गाउँपालिका भित्र राम्रो नतिजा ल्याउनेहरू अन्य विद्यार्थीहरुलाई समेत सम्मान गरेकाे छ। विद्यार्थीहरूलाई पूर्व गृह राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ कुशल र दोरम्बा सैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले सम्मान गरेको हो।श्रेष्ठ ‘कुशल’ ले सम्मान प्रदान गर्दै विद्यार्थीहरूलाई प्रतिस्पर्धी, सचेत र सक्षम नागरिक बन्न प्रेरणा दिए। डिजिटल युगमा हुर्कंदै गरेको आजको पुस्ताले मोबाइल, इन्टरनेटलगायत प्रविधिको सकारात्मक उपयोग गर्दै अध्ययनमा उत्कृष्टता हासिल गर्नुपर्ने उनको भनाइ थियो।
श्रेष्ठले रामेछापका विद्यार्थीहरू विगतमा डाक्टर, इन्जिनियर, सचिव जस्ता जिम्मेवार स्थानमा पुगेको उदाहरण दिँदै, अहिलेको पुस्ताले पनि रुचि अनुसारको संकाय रोजेर ज्ञान हासिल गर्दै समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए। साथै, राजनीतिप्रति सचेत हुनुपर्ने, तर सबैले सक्रिय राजनीतिमा होमिनु नपर्ने विचार पनि व्यक्त गरे।
कार्यक्रममा दोरम्बा सैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले विद्यार्थीको शैक्षिक सफलतामा अभिभावक, शिक्षक र स्थानीय सरकारको सहकार्य महत्त्वपूर्ण हुने बताए। गाउँपालिकाको शिक्षा अधिकृत नेत्रप्रसाद गौतमले स्थानीय तहबाट प्रदान गरिने शैक्षिक अवसरको सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गरे।
विद्यार्थी नेत्री निर्मला गौतमले ग्रामीण क्षेत्रका विद्यार्थीहरू पनि काठमाडौँ जस्ता सहरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताका धनी भएको बताउँदै आत्मविश्वासका साथ अघि बढ्न सुझाव दिइन्।
कार्यक्रममा समन्वय समितिका अध्यक्षले भविष्यमा यस्ता सम्मान कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइने जानकारी दिए। कार्यक्रममा राजनीतिकी तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरू सहित विद्यार्थी र अभिभावकको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन समन्वय समितिका सचिव सुशील चौलागाईंले गरेका थिए भने स्वागत मन्तव्य समितिका उपाध्यक्ष सलाम लामाले गरेका थिए।







