काठमाण्डाै, साउन ११ — गण्डकी प्रदेशका पूर्वप्रमुख तथा नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरुङको निधन भएको छ। उहाँको आज बिहान ८ बजे चितवनको भरतपुर–२६ स्थित आफ्नै निवासमा ७६ वर्षको उमेरमा निधन भएको हो।
लामो समयदेखि क्यान्सर रोगसँग संघर्ष गर्दै आउनुभएका गुरुङकाे उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
वि.सं. २००६ सालमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिनुभएका गुरुङ पछि चितवन बसाइँ सरेका थिए। उहाँ नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहनुभएको थियो।
वि.सं. २०७८ साल साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका गुरुङ नवलपरासीको भूमि समस्या समाधान आयोगको अध्यक्ष भएर पनि काम गरिसक्नुभएको थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङका अनुसार, गुरुङका छोरा विदेशमा रहेका कारण अन्त्येष्टि भोलि (साउन १२ गते) गरिने कार्यक्रम रहेको छ।






