मकवानपुर – बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसका मन्त्रीहरूले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन्। गएकाे असारमा पारित बजेटप्रति आक्रोश व्यक्त गर्दै चारजना मन्त्रीले आज मुख्यमन्त्री बहादुरसिंह लामाको नेतृत्वमा विश्वास नरहेको भन्दै पदबाट राजीनामा दिएका हुन्।
राजीनामा दिने मन्त्रीहरूमा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ छन्। यी सबै मन्त्रीहरू केही दिनअघि मात्र पार्टी सभापति शेरबहादुर देउवासँग परामर्श गरेका थिए।
कांग्रेस स्रोतका अनुसार बजेटमा मुख्यमन्त्री लामा र आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेले पार्टीभित्र सहमति नगरी मनपरी ढंगले कार्यक्रम समेटेको आरोप लगाउँदै नेतृत्व फेर्न दबाब बढेको हो। असन्तुष्ट पक्ष लामालाई हटाएर कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने तयारीमा जुटेको छ।
यसैबीच, नेपाली कांग्रेस संसदीय दलले लामाविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेको छ। प्रस्तावको मस्यौदा तयार भइसकेको र चाँडै संसदीय दलको नेतामा बानियाँको चयन गरेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइने बताइएको छ। मुख्यमन्त्री लामाले भने आफू गम्भीर स्वास्थ्य समस्या आएमा मात्र पदबाट हट्ने बताउँदै राजीनामा नदिने अडान दोहोर्याएका छन्। तर उनको यो अभिव्यक्तिपछि पार्टीभित्रको असन्तोष झनै चुलिएको छ। कांग्रेसभित्र तीव्र राजनीतिक चलखेल सुरु भएसँगै बागमतीमा नेतृत्व परिवर्तनको सम्भावना प्रबल बन्दै गएको छ।






