भारत–बेलायत मुक्त व्यापार सम्झौता सम्पन्न, व्यापार र आर्थिक साझेदारीमा ऐतिहासिक प्रगति

काठमाडौं- तीन वर्ष लामो वार्तापछि भारत र बेलायतबीच बहुप्रतिक्षित मुक्त व्यापार सम्झौता (Free Trade Agreement–FTA) अन्ततः सम्पन्न भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री किएर स्टार्मरको उपस्थितिमा यो ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरिएको बीबीसी हिन्दीले जनाएको छ।

प्रधानमन्त्री मोदी हाल बेलायतको भ्रमणमा छन्। यो प्रधानमन्त्रीको रूपमा उहाँको चौथो बेलायती भ्रमण हो। सम्झौता सम्पन्न गरेपछि प्रधानमन्त्री मोदीले यसलाई “साझा समृद्धिको योजना” का रूपमा व्याख्या गर्दै भारतीय वस्त्र, जुत्ता, गहना, समुद्री खाना, इञ्जिनियरिङ्ग तथा प्रशोधित कृषि वस्तुहरू बेलायती बजारमा अझ सजिलै पहुँच हुने बताएका छन्। उहाँका अनुसार यसले भारतका किसान, माछा पालन व्यवसायी तथा साना उद्योगहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ।

त्यस्तै, बेलायतबाट भारतमा आउने ह्विस्की, चकलेट, बिस्कुट, मासु, कार, एअरोस्पेस उपकरण, मेडिकल डिभाइसहरूमा अब आयात कर घट्नेछ, जसले भारतीय बजारमा ती वस्तुहरू सस्तो हुने अपेक्षा गरिएको छ।

बेलायती सरकारले सम्झौताबाट आफ्नो अर्थतन्त्रमा वार्षिक £4.8 अर्ब पाउन्डको योगदान हुने दाबी गरेको छ। भारतले सन् २०३० सम्म १ ट्रिलियन डलर बराबरको निर्यात लक्ष्य राखेको सन्दर्भमा बेलायतलाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट भएको छ।

ब्रेक्जिटपछि बेलायतले कुनै पनि देशसँग गरेको यो सबैभन्दा ठूलो व्यापारिक सम्झौता हो। यद्यपि, बेलायती विपक्षी नेताहरूले भारतीय श्रमिकलाई राष्ट्रिय बीमा अंशदानमा दिइने छुटका कारण बेलायती कामदारहरू प्रभावित हुनसक्ने चेतावनी दिएका छन्। तर बेलायती व्यापार मन्त्रालयले ती चिन्तालाई खारेज गरेको छ।

यस सम्झौताको कार्यान्वयनसँगै भारत–बेलायतबीचको व्यापार अझ तीव्र हुने विश्वास गरिएको छ। दुवै देशका आर्थिक हितलाई मजबुत बनाउने यस सम्झौताले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्लेषकहरूको ठम्याइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्