रुसमा बेपत्ता भएको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला, सबै ५० जनाको मृत्यु आशंका

काठमाडौं । रुसको साइबेरियामा केन्द्रीत अंगारा एयरलाइन्सको एउटा विमान उत्तरी रुसको घना जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा विमानमा सवार करिब ५० जनाको मृत्यु भएको आशंका गरिएको छ ।

रुसी अधिकारीहरूका अनुसार सो विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु तथा ६ जना चालक दलका सदस्य सवार थिए । क्षेत्रीय गभर्नर भासिली ओर्लोभले दुर्घटनाग्रस्त विमानमा बालबालिकासमेत भएको पुष्टि गरेका छन् ।

रोयटर्सका अनुसार हेलिकोप्टरबाट खिचिएको भिडियो फुटेजमा दुर्घटनास्थलबाट बाक्लो धुवाँ उठिरहेको देखिएको छ । विमान झण्डै ५० वर्ष पुरानो थियो । सन् १९७६ मा निर्माण गरिएको उक्त विमानलाई सोभियत संघ पतन हुनुअघि एरोफ्लोट एयरलाइन्सले सञ्चालन गरेको थियो ।

ब्लागोभेसेन्स्क सहरबाट चीनसँगको सीमामा पर्ने टिन्डा सहरतर्फ गइरहेको उक्त विमान अवतरणको तयारी गरिरहेका बेला राडारबाट हराएको थियो । हाल उद्धार टोली घटनास्थलमा पुगेको र थप विवरण संकलन भइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्