एमआरपीको नाममा व्यवसायीमाथि गरिएको जरिवाना स्वीकार्य छैन: अध्यक्ष गौतम

काठमाडौं – नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले साना व्यापारी तथा खुला बजार प्रणालीमा आधारित व्यवसायीहरूका हकहित विपरीत सरकार अगाडि बढेको आरोप लगाउँदै आन्दोलन अपरिहार्य हुने चेतावनी दिनुभएको छ। सरकारले आयातित वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्ने निर्णय कार्यान्वयन गर्न थालेपछि व्यवसायीहरू आक्रोशित भएका छन्। यही प्रसङ्गमा नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘व्यावसायिक क्षेत्रका समसामयिक विषय’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले, “सरकारले साना व्यवसायीमाथि अन्याय गर्दै व्यवसायीलाई पाखा लगाउने काम गरिरहेको छ,” भन्नुभयो।

उहाँले एमआरपी प्रणाली साना व्यापारीका लागि प्रतिकूल रहेको उल्लेख गर्दै, सरकारले जरिवाना गर्ने नाममा व्यापारीहरूलाई दुःख दिइरहेको र आयातमा कडाइ गरेर अर्थतन्त्र ठप्प पार्ने प्रयास भइरहेको आरोप लगाउनुभयो।“सरकार मनपरी ढंगले एमआरपी तोक्न लागिरहेको छ, जुन खुला बजार प्रतिस्पर्धाको सिद्धान्तविपरीत छ,” अध्यक्ष गौतमको भनाइ थियो।

सरकार दशैँ–तिहारको मुखमा व्यवसायलाई सहज बनाउनेतर्फ लाग्नुको सट्टा उल्टै व्यवसाय धरापमा पार्ने काममा सक्रिय भएको भन्दै उहाँले आपत्ति जनाउनुभयो। कार्यक्रममा उद्योगमन्त्री दामोदर भण्डारी तथा मन्त्रालयका सचिव पनि सहभागी हुनुहुन्थ्यो। अध्यक्ष गौतमले व्यापारको निरन्तर अवलोकन गरिरहेको बताउँदै भन्सार प्रणालीमा पारदर्शिता ल्याउनका लागि स्पष्ट संयन्त्र आवश्यक रहेको धारणा राख्नुभयो। सरकारले यदि व्यापारीहरूको आवाज नसुने आन्दोलन अपरिहार्य हुने र व्यापारी हितको रक्षा गर्न सशक्त ढंगले अघि बढिने उहाँको चेतावनी थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्