भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन्।
स्थानीय निरज चक्रधरको दुईतले घरको भुइँ तलामा डेरा लिइरहेका उनीहरू सोही घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएको अवस्थामा भेटिएका हुन्। मृतकहरू सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल हुन्। उनीहरू दिदीबहिनी भएको पुष्टि थिमी प्रहरी वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक (प्रनाउ) नवराज ढुङ्गानाले गर्नुभएको छ।
घरधनीका अनुसार दुई किशोरी करिब दुई साताअघि मात्रै डेरामा बस्न आएका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू घरबाट भागेर आएको खुल्न आएको प्रहरीले जनाएको छ।
मृतकका आफन्त हालसम्म सम्पर्कमा नआएकाले उनीहरू घटनास्थलमा आइसकेपछि मात्र औपचारिक मुचुल्का तयार गरिने प्रनाउ ढुङ्गानाले जानकारी दिनुभयो। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







