काठमाण्डौ – रसुवामा आएको बाढीका कारण मितेरी पुलसमेत बगाएपछि चीनको केरुङमा अलपत्र परेका नेपाली नागरिकलाई चीन सरकारले तातोपानी नाकासम्म ल्याइदिएको छ। नेपाल सरकारको औपचारिक अनुरोधपछि चीनको परराष्ट्र मन्त्रालयको समन्वयमा २०३ जना नेपाली नागरिकहरूलाई आज (साउन ७ गते) तातोपानी नाका हुँदै नेपाल फिर्ता गराइएको हो।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार, उद्धार गरिएका सबै नेपाली नागरिकलाई तातोपानी नाकाबाट नेपाली प्रशासनले जिम्मा लिएको छ। जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकको नेतृत्वमा उनीहरूलाई सीधै काठमाण्डौतर्फ पठाइने व्यवस्था मिलाइएको अधिकारीले जानकारी दिए।
गत असार २४ गते रसुवाको ल्हेन्दे खोलामा आएको भीषण बाढीले मितेरी पुल र सडकको संरचना पूर्ण रूपमा ध्वस्त पारेर सीमा आवत–जावत ठप्प पारेको थियो। सो क्रममा नाकाको तिब्बततर्फ रहेका ७२ जना नेपाली कन्टेनर चालक तथा अन्य व्यापारीहरू समेत जोखिममा परेका थिए। ती सबैलाई चीन सरकारले तत्काल उद्धार गरेर केरुङस्थित सुरक्षित स्थानमा राखेको थियो।
यस अवधिमा चीन सरकारले उनीहरूलाई खाना, आवास, औषधोपचारलगायतका सम्पूर्ण सुविधा उपलब्ध गराएको थियो। नेपाल फर्काइएका नेपाली नागरिकहरूमा कन्टेनर चालक, व्यापारी, मजदुरलगायत विभिन्न व्यवसायमा संलग्न व्यक्ति छन्।
सरकारका अनुसार बाँकी बाटो मर्मतका काम भइरहेकाले रसुवा नाका अझै केही समय बन्द रहनेछ। यसबीचमा दुवै देशबीच समन्वय गरेर वैकल्पिक नाका प्रयोग गरी उद्धार तथा सामान ढुवानी कार्य भइरहने जनाइएको छ।






