काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा अबदेखि प्रवेश परीक्षा नहुने भएको छ। सीटीईभीटीले आगामी शैक्षिक सत्रदेखि एसईईमा प्राप्त ग्रेडिङ (GPA) को आधारमा विद्यार्थी भर्ना गर्ने निर्णय गरेको हो।
सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीका अनुसार यसअघि देशभर सञ्चालन हुने प्रवेश परीक्षामा सहभागिता न्यून हुँदै गएको, कतिपय कार्यक्रममा तोकिएको सिटभन्दा कम आवेदन पर्ने, र प्रणाली पारदर्शी नभएको भन्ने गुनासो बढेपछि प्रवेश परीक्षा हटाइएको हो। अब विद्यार्थीले घरबाटै अनलाइन फारम भरेर जीपीएको आधारमा भर्ना प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन्।
नयाँ प्रणालीअनुसार सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई प्राथमिकता दिइनेछ। उनीहरूको GPA मा ०.१५ अतिरिक्त अंक जोडिनेछ भने निजी विद्यालयका विद्यार्थीका लागि ०.८५ मात्र अंक थपिनेछ। यसले ग्रामीण तथा विपन्न पृष्ठभूमिका विद्यार्थीलाई अवसर दिने विश्वास गरिएको छ।
सीटीईभीटीले यस वर्ष छात्रवृत्ति र पेइङ दुबै कोटामा अनलाइन आवेदन खुला गरेको छ। आवेदन फारम www.ctevtexam.org.np मा गई ITMS प्रणालीमार्फत भर्न सकिनेछ। आवेदन दस्तुर एक हजार रुपैयाँ तोकिएको छ, जुन कनेक्ट आईपीएस वा खल्तीमार्फत तिर्न सकिनेछ।
हाल देशभर ६३ वटा संस्थाले पीसीएल नर्सिङ सञ्चालनको अनुमति पाएका छन्। प्रत्येकमा ४० सिट रहनेछ, जसमध्ये ३ छात्रवृत्तिका र ३७ पेइङ कोटा हुनेछ। यसअनुसार कूल २,५२० जना विद्यार्थी भर्ना हुनेछन्, जसमा १२० जनाले छात्रवृत्तिमा पढ्ने अवसर पाउनेछन्।
सरकारको नीति तथा कार्यक्रममा प्रविधिमैत्री र पहुँचयुक्त प्राविधिक शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य अनुरूप प्रवेश प्रणालीलाई डिजिटल र सरल बनाइएको सीटीईभीटीको दाबी छ। अनलाइन प्रणालीमार्फत सेटिङ र पहुँचको दुरुपयोग रोक्ने र शैक्षिक प्रक्रियामा पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ।






