काठमाडौं — नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संघीय निजामति विधेयकमा उल्लेख भएको कुलिङ पिरियडको व्यवस्था कांग्रेसका लागि अडिग विषय भएको स्पष्ट पारेका छन्। बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदीय समितिबाट सर्वसम्मत रुपमा दुई वर्षे कुलिङ पिरियडको व्यवस्था अघि बढाइएको विषयमा कांग्रेसले कुनै प्रकारको सम्झौता नगर्ने बताएका हुन्।
संघीय निजामति विधेयकमा प्रारम्भिक रुपमा दुई वर्षे कुलिङ पिरियडको प्रावधान थियो, जुन राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित भई प्रतिनिधि सभामा पुगेको थियो। तर, प्रतिनिधि सभाबाट उक्त समयावधि हटाएर विधेयक पारित गरिएको थियो। समितिबाट पारित र संसदबाट पारित विधेयकबीच अन्तर आएको भन्दै अहिले यो विषय पुनः संसदीय छानबिन समितिमा अध्ययनका लागि पुगेको छ।
यसैबीच राष्ट्रिय सभामा रहेको विधेयकमा नेकपा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउन संशोधन प्रस्ताव राखेका छन्। तर, नेपाली कांग्रेस यसमा अडिग रहेको स्पष्ट संकेत महतले दिएका हुन्।
प्रवक्ता महतले भने, “कुलिङ पिरियडको बारेमा कुरा छ। यो समितिबाट सर्वसम्मत रुपमा अघि बढेको हो। यसमा नेपाली काँग्रेसले कम्परमाइज गर्न सक्दैन। कुलिङ पिरियड लागू हुनैपर्छ।”
उनले भूमि विधेयक लगायतका विषयहरूमा पनि कुनै एक पक्षको एकलौटी निर्णय स्वीकार्य नहुने स्पष्ट पारे। गठबन्धन सरकारले सन्तुलित ढंगले अघि बढ्नुपर्ने उनको जोड थियो।






