नेपालको विदेश व्यापारमा उल्लेख्य वृद्धि, निर्यातमा ८१.८० प्रतिशतको उच्च वृद्धि

काठमाडौं — आर्थिक वर्ष २०८१/८२ मा अन्य मुलुकहरूसँग नेपालको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो आर्थिक वर्षमा कुल व्यापार १९.२४ प्रतिशतले वृद्धि भएको हो।

गत आर्थिक वर्षमा नेपालले कुल १८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १३.२५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष १५ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात गरिएको थियो।

उता निर्याततर्फ झनै उल्लेख्य वृद्धि देखिएको छ। २०८१/८२ मा नेपालबाट विभिन्न मुलुकमा २ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। अघिल्लो वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले बढेको हो। २०८०/८१ मा नेपालले १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो।

यो वृद्धि हालसम्मकै उच्च निर्यात वृद्धिका रूपमा लिइएको छ। निर्यात वृद्धिको यो दरले नेपालमा उत्पादकत्व तथा अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार हुँदै गएको संकेत गरेको विश्लेषकहरूले जनाएका छन्।

विदेश व्यापारमा देखिएको यो सकारात्मक प्रवृत्तिले समष्टिगत अर्थतन्त्रमा उत्साहजनक संकेत दिएको छ भने व्यापार घाटा न्यूनीकरणतर्फको मार्गप्रशस्त पनि गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्