भोटेकोशी बाढीमा ६८ सवारीसाधन बगाए, भन्सार यार्ड क्षतिग्रस्त

काठमाडौँ- गत असार २४ गते आएको भोटेकोशी बाढीले रसुवाको टिमुरेमा रहेको भन्सार यार्डमा थुपारिएका ६८ वटा सवारीसाधन बगाएको पाइएको छ। तीमध्ये ४२ वटा विद्युतीय गाडी रहेको भन्सार कार्यालय रसुवाले जनाएको छ।

रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार, ५ वटा सिनोट्रक ब्रान्डका ट्रक, चिनियाँ कम्पनीका टोयोटा हाइलक्स, रोलर र ट्रिपर समेत बगाएका छन्। बगाइएका सवारीसाधनको पार्टपुर्जा समेत फेला नपरेको बताइएको छ।

१८ वटा मालवाहक सवारी चीनबाट सामान लिएर आएको र भन्सार यार्डमै रोकिएको अवस्थामा बाढीले बगाएको थियो। केही गाडी भन्सार जाँच पास भइसकेका थिए भने केही प्रक्रिया पूरा गर्ने क्रममा थिए।

बाढीले सुक्खा बन्दरगाह निर्माण गरिरहेको चिनियाँ कम्पनीको यार्डसमेत बगाएको छ। करिब ५८ रोपनी क्षेत्रफलमा चीन सरकारले २ अर्ब १६ करोड रुपैयाँ अनुदानमा बनाएको यार्ड निर्माण अन्तिम चरणमा पुगेकै बेला बाढीले ध्वस्त पारेको हो।

भन्सार प्रमुख भट्टराईका अनुसार, ११ वटा विद्युतीय गाडी पूर्ण रूपमा नष्ट भएका छन् भने २९ वटा मालवाहक गाडी यार्डमै फसेका छन्। तीमध्ये गुड्न सक्ने केही गाडी माथिल्लो सुरक्षित स्थानमा सारिएको भए पनि अन्य गाडी अझै उद्धार हुन सकेका छैनन्। नेपाल इन्टरमोडल यातायात विकास बोर्डलाई बाटो मर्मत गरी गाडी निकाल्न सक्ने व्यवस्था मिलाइदिन पत्राचार भइसकेको बताइएको छ।

सडक र नाका ठप्प, कारोबार प्रभावित

स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड पनि बाढीले क्षति पुर्‍याएको छ। हाल साना र हल्का सवारीसाधन एकतर्फी सञ्चालनमा आए पनि ठूला मालवाहक सवारी चल्न दिइएको छैन। सडक साँघुरो र जोखिमपूर्ण भएकाले एकैपटक ठूलो सवारी गुड्दा भासिने सम्भावना रहेको जनाइएको छ।

बाढीपछिको अवस्थाका कारण चीनबाट नेपाल आउँदै गरेका १५०–२०० मालवाहक गाडी चिनियाँ क्षेत्रमा रोकिएका छन्। टिमुरेमा भन्सार जाँच पास भएका ४० वटा मालवाहक सवारी र १५०–२०० हाराहारीका विद्युतीय गाडी सडक र यार्ड वरपर थन्किएको अवस्था छ।

स्याउ कुहिँदै, राजस्व संकलन अवरुद्ध

रसुवा नाकामा रोकिएका स्याउ लोड भएका दुई मालवाहक सवारी अब नष्ट हुने अवस्थामा छन्। भन्सार कार्यालयका अनुसार स्याउ थोरै मात्र कुहिएको भए व्यवसायीको आग्रहमा भन्सार पास गरेर निकाल्ने व्यवस्था मिलाइने छ।

बाढी आउनु अघिल्लो दिनसम्म भन्सार कार्यालयले तोकेको राजस्व लक्ष्यको ९९.८१ प्रतिशत संकलन गरिसकेको थियो। ३० अर्ब २० करोडको लक्ष्यमध्ये ३० अर्ब १५ करोड रुपैयाँ उठिसकेको कार्यालयको दाबी छ। बाढी नआएको भए राजस्व संकलन १०५ प्रतिशत पुग्ने अनुमान गरिएको थियो।

पुनर्निर्माणको जिम्मा चीनमै

बाढीले भत्काएको भन्सार यार्ड चीनले पुनः निर्माण गर्ने तयारीमा रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताएका छन्। निर्माण सकिएर हस्तान्तरण नहुँदै यार्ड बगेकाले चीन सरकार आफैंले पुनर्निर्माण गर्ने सहमति बनेको छ।

यसबीच, चीनले भोटेकोशीको ल्हेन्दे खोलामा बगाएको मितेरी पुलको सट्टा अस्थायी बेलिब्रिज बनाउने तयारी गरिरहेको छ। तर, यार्ड पुनः निर्माण नभएसम्म सवारीसाधन पार्किङको समस्या कायमै रहने संकेत देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्