विराटनगर — सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर बनाइएको फेक अडियो प्रकरणमा संलग्न राजकुमार तिम्सिना इटहरीबाट पक्राउ परेका छन्। सर्वोच्च अदालतबाट ६ महिनाको कैद सजाय सुनाइएका तिम्सिना लामो समय फरार रहेका थिए।
प्रहरीका अनुसार तिम्सिनालाई आइतबार इटहरी–५, पचरुकीबाट पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले दिएको जानकारीअनुसार, दुई महिलाबीचको लेनदेन विवादमा उनी पनि संलग्न भएपछि घटनास्थल पुगेको प्रहरीले तिम्सिनालाई नियन्त्रणमा लिएको थियो।
डिएसपी भण्डारीले भने, “सुरुमा उनले आफू इलामका खड्का थर भएका व्यक्ति भन्दै झुटो परिचय दिएका थिए। तर, परिचय पत्र मागेर जाँच गर्दा उनी फरार अभियुक्त राजकुमार तिम्सिना भएको खुलेको हो।”
सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले गत असोज १४ गते तिम्सिनालाई फेक अडियो प्रकरणमा दोषी ठहर गर्दै ६ महिनाको कैद फैसला सुनाएको थियो। त्यसयता उनी फरार रहेका थिए।
प्रहरीका अनुसार तिम्सिना पछिल्लो समय धनकुटामा बसेर काठका सामाग्रीको काम गर्दै आएका थिए। उनलाई हाल कारागार चलान गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
फेक अडियोमार्फत उच्च अदालत, सञ्चार जगत र कानुन व्यवसायमा भ्रम र बदनाम फैलाउने उद्देश्य देखिएको यो प्रकरणलाई सर्वोच्च अदालतले गम्भीर रूपमा लिएको थियो।