काठमाडौं — घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक सोधपुछ थालेको छ।
आयोग स्रोतका अनुसार, अनुसन्धान अधिकृतहरूको टोलीले गुप्तासँग हालै सार्वजनिक भएको घुस अडियोबारे विस्तृत सोधपुछ गरिरहेको छ। सोधपुछसँगै अडियोको वास्तविकता पुष्टि गर्न मन्त्री गुप्ताको आवाजको नमुना लिने प्रक्रिया पनि अघि बढाइएको छ।
‘उहाँलाई उपस्थित हुन बोलाइएको हो, अनुसन्धान टोलीले सोधपुछ गर्दैछ,’ अख्तियार स्रोतले जानकारी दियो, ‘आवाज नमुना परीक्षणका लागि अनुमति लिएर रेकर्ड गरिनेछ, जुन अडियो केही दिनअघि सार्वजनिक भएको सामग्रीसँग मिलान गरिनेछ।’
गत साता कास्की जिल्लाका प्रमुख मालपोत अधिकृतको सरुवासम्बन्धी विषयमा भनिएको अडियो सार्वजनिक भएको थियो, जसमा गुप्ताको संलग्नता रहेको आशंका गरिएको छ। सोही विषयले चौतर्फी चासो र आलोचना निम्त्याएपछि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए।
अख्तियारले अडियोको प्रामाणिकता पुष्टि गर्न फरेन्सिक परीक्षणमार्फत आवाज मिलान प्रक्रिया अघि बढाउने तयारी गरेको छ। सो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूमाथिको अनुसन्धानसमेत क्रमशः अगाडि बढाइनेछ।






