साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश आमनेसामने

काठमाण्डौ – साफ यू-२० महिला च्याम्पियनसिपको निर्णायक खेल आज नेपाली समयअनुसार बेलुकी ६:४५ बजे बङ्गलादेशको बसुन्धरा स्पोर्ट्स मैदानमा हुनेछ, जहाँ नेपालले उपाधिका लागि बङ्गलादेशसँग दोस्रोपटक प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगिताको डबल राउन्ड रोबिन प्रारूपअनुसारको यो अन्तिम खेल उपाधि टुंग्याउने निर्णायक बन्नेछ। पाँच खेलपछि बङ्गलादेश १५ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल १२ अंकसहित दोस्रो स्थानमा रहेको छ। नेपालले उपाधि जित्न बङ्गलादेशलाई हराउनैपर्नेछ, जबकि बङ्गलादेशलाई बराबरी नतिजा पनि उपाधिका लागि पर्याप्त हुनेछ।

नेपालले प्रतियोगितामा भुटान र श्रीलङ्कामाथि दुई-दुई खेल जितेको छ भने बङ्गलादेशसँगको पहिलो भेटमा ३–२ ले पराजित भएको थियो। त्यसयता नेपालको प्रदर्शन निकै सशक्त रहँदै आएको छ—उसले लगातार तीन खेल जितेको छ र तिनै खेलमा कुनै पनि गोल खाएको छैन। नेपालले श्रीलङ्कालाई दुई खेलमा ७–० ले र भुटानलाई पछिल्लो खेलमा ८–० गोल अन्तरले पराजित गरेको थियो।

उता बङ्गलादेशले पनि प्रतियोगितामा आक्रामक खेल प्रदर्शन गर्दै आएको छ। उसले श्रीलङ्कालाई ९–१, नेपाललाई ३–२, भुटानलाई ४–१, पुनः भुटानलाई ३–० र श्रीलङ्कालाई ५–० गोल अन्तरले हराएको छ। तर, तीन खेलमा उसले गोल खाएको छ, जुन नेपालका लागि सकारात्मक संकेत हुन सक्छ।

नेपाल, बङ्गलादेश, भुटान र श्रीलङ्का गरी जम्मा चार राष्ट्र सहभागी रहेको प्रतियोगिता आज उपाधि विजेता टुंग्याउँदै समापन हुँदैछ। नेपालले बङ्गलादेशविरुद्ध ऐतिहासिक जित निकाल्न सके पहिलो पटक यू-२० महिला च्याम्पियन बन्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्