काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकटका सांसदहरूलाई दरबारमार्गस्थित होटल याक एण्ड यतीमा छलफलका लागि डोरेका छन्। संस्थापन इतर समूहका एक नेताका अनुसार बैठक हाल जारी छ र छलफलको एजेन्डाबारे औपचारिक विवरण बाहिर आएको छैन।
पछिल्ला दिनमा कोइरालाले पार्टी भित्र र बाहिर दुवै तहमा राजनीतिक संवादलाई तीव्रता दिएका छन्। केही दिनअघि उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन्। दुवै भेट उनीहरूकै निवासमा भएको थियो।
कोइराला निकटका नेताहरूका अनुसार उनी अन्य दलका शीर्ष नेतृत्वसँग पनि नियमित संवाद गरिरहेका छन्। यस्ता गतिविधिहरूले कांग्रेसभित्र संभावित सत्ता समीकरण, नेतृत्वको दाबी वा रणनीतिक समूह निर्माणतर्फ संकेत गर्ने राजनीतिक विश्लेषकहरू बताउँछन्।
यसबीच, पार्टी नेतृत्वले कोइरालाको गतिविधिप्रति कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर, राजनीतिक वृत्तमा यो छलफललाई भित्रभित्रै नयाँ ध्रुवीकरणको प्रयासका रूपमा हेरिएको छ।