काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक नगरेकोमा निर्वाचन आयोगप्रति ध्यानाकर्षण गराउन आयोग पुगेका छन्। महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा आइतबार कान्तिपथस्थित निर्वाचन आयोग कार्यालय पुगेको रास्वपाको प्रतिनिधिमण्डलमा कानुन विभागका पदाधिकारीहरू पनि सहभागी थिए। उनीहरूले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग भेटवार्ता गरी हालसम्म अद्यावधिक प्रक्रिया किन ढिलो भएको भन्नेबारे प्रश्न उठाएका थिए।
भेटपछिको प्रतिक्रिया दिँदै महामन्त्री बुर्लाकोटीले भने, “विलम्ब नहुनुपर्ने केही कैफियत छ कि भनेर कुरा राख्न आएका थियौं। आयोगले पार्टीबाट बुझाइएका सबै जसो विवरण पुगेको जनाएको छ। हामीले पनि पटक–पटक विवरण बुझाउँदै आएका छौं।”पार्टीले पदाधिकारी हेरफेरका सम्बन्धमा आवश्यक सबै कागजात बुझाइसकेको दाबी गर्दै आएको छ। तर आयोगले अद्यावधिक प्रक्रिया लम्ब्याएपछि केही पदाधिकारी पुनः पुरानै जिम्मेवारीमा फर्कनुपर्ने मागसहित सर्वोच्च अदालत पनि धाएका छन्।
रास्वपाले निर्वाचन आयोगबाट निष्पक्ष र छरितो प्रक्रिया अपेक्षा गरिरहेको जनाएको छ। यता आयोगले भने आवश्यक अध्ययनपश्चात् प्रक्रिया अघि बढाउने संकेत दिएको छ।