विराटनगर – निरन्तरको वर्षाका कारण हेवा खोलामा आएको बाढीले डाइभर्सन भत्किँदा मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ र पाँचथर जिल्लाका तीन स्थानीय तहको यातायात सेवा ठप्प भएको छ। पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार हेवा खोलाको डाइभर्सनमाथिबाट पानी बग्न थालेपछि सवारी आवागमन अवरुद्ध भएको हो। “अहिले पानीको बहाव घट्ने क्रममा छ, बहाव कम भएपछि डाइभर्सन मर्मत गरी सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ,” उनले जानकारी दिए।
यसअघि २०८० असारमा आएको बाढीले हेवाखोलाको स्थायी पुल बगाएको थियो। त्यसपछिको अस्थायी बेलिब्रिज पनि २०७९ असोज १२ गतेको बाढीले बगाएको थियो। त्यसयता डाइभर्सन बनाएर अस्थायी रूपमा यातायात सञ्चालन गरिँदै आएको थियो। गत जेठ ३१ गते फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने बेलिब्रिज निर्माण सकिने भनिएकै दिन पुनः पुल भाँचिएको थियो। बारम्बारको बाढीले सो स्थानमा स्थायी संरचना निर्माणमा कठिनाइ हुँदै आएको छ।
उता, निरन्तरको वर्षाका कारण मेची राजमार्गसँगै तमोर करिडोर पनि अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार साँगुरीगढी गाउँपालिका–९ मा गएको पहिरोले सडक बन्द भएको हो। पहिरो हटाउने प्रयास भइरहेको जनाइएको छ। स्थानीय प्रशासनले आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ भने सर्वसाधारणलाई सचेत रहन अनुरोध गरिएको छ।