काभ्रेपलाञ्चोक – निरन्तरको वर्षासँगै दोलखा र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा प्रमुख सडकखण्डहरू अवरुद्ध भएका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार बिगु गाउँपालिका–१ सोल्टीमोडमा खसेको पहिरोले सिंगटी–लामाबगर सडक पूर्णरूपमा अवरुद्ध भएको छ। अहिले सडक खुलाउने प्रयास भइरहे पनि पूर्णरूपमा सञ्चालनमा आउन समय लाग्ने अनुमान गरिएको छ।
यस्तै कालिन्चोक गाउँपालिका–६ लापिलाङतर्फ जाने सडक पनि अवरुद्ध भएको छ। गोदुङ भन्ने स्थानमा खहरे खोलाको पानी राति थुनिएर एकैपटक खुलेपछि सडकमा माटो र ढुंगा थुप्रिएको हो। सो क्षेत्रको सडकको ढलान समेत भासिएको हुँदा चारपांग्रे सवारी साधन सञ्चालनमा आउन नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।
उता, सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गको जुरे खण्ड पनि अवरुद्ध भएको छ। शनिबार राति पुरानो पहिरो माथिबाट लेदोसहित पुनः पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीका अनुसार, अहिले पहिरो पन्छाउन एक्स्काभेटर र लोडर प्रयोग गरिएको छ। सडक अवरुद्ध हुँदा ठूला सवारी साधन र कन्टेनरहरू बाटोमै रोकिएका छन्। साथै जुरेमा बिजुलीका पोल ढलेका छन् भने महभीरमा सडक भासिएको छ। मोटरसाइकलहरू जोखिम मोलेर आवतजावत गरिरहेका छन्।
यस पहिरोबाट तातोपानी नाका, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबीसे नगरका स्थानीयवासीहरू प्रत्यक्ष प्रभावित भएका छन्। तातोपानी नाकाबाट सामान लिन र ल्याउन गएका कन्टेनर पनि बीच बाटोमै रोकिएका छन्। प्रशासनले सर्वसाधारणलाई सचेत रहन र आवश्यक नपरी पहिरोप्रभावित क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ।