इनास वेल्सद्वारा दक्षिण एसियाली सांस्कृतिक कार्यक्रममा नेपाली संस्कृति र सम्पदाको आकर्षक प्रस्तुति

कार्डिफ (वेल्स), दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका विभिन्न मुलुकहरूको सांस्कृतिक प्रस्तुति समेटिएको दक्षिण एसियाली सांस्कृतिक कार्यक्रम वेल्सको राजधानी कार्डिफमा भव्य रूपमा सम्पन्न भएको छ।

 

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) वेल्सले नेपाली सांस्कृतिक सम्पदाको प्रभावशाली प्रस्तुति दिँदै नेपाललाई विशिष्ट रूपमा चिनाएको छ। इनास वेल्सका संस्थापक संयोजक रामदत्त मिश्रका अनुसार कार्यक्रममा सामूहिक नृत्य, एकल नृत्य तथा लोपोन्मुख नेपाली बाजाहरू सारङ्गी, मादल, मजुरा, खैजडी, डम्फू आदिको जीवित प्रदर्शन गरिएको थियो।

सामूहिक नृत्यमा इनासकी पदाधिकारी आकृति रिमालको नेतृत्वमा प्रस्तुत टुना र डम्फूको तालमा सजिएको गीतले दर्शकको मन जितेको थियो। एकल नृत्यतर्फ मिग्नोन रेग्मीले भन्देउ सुटुक्कै गीतमा दमदार प्रस्तुति दिँदै नेपाली लोकनृत्यको सौन्दर्य झल्काएकी थिइन्।

कार्यक्रममा इनासले स्थापना गरेको प्रदर्शनी स्टलमा नेपाली खुकुरी, ढाका टोपी, पारम्परिक वाद्ययन्त्र लगायत दर्जनौं नेपाली पहिचानका सामग्रीहरूको प्रदर्शन गरिएको थियो। उक्त स्टलले विदेशी नागरिक र स्थानीय संघ–संस्थाहरूको व्यापक ध्यान तानेको थियो।

नेपाली कला, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले प्रस्तुत कार्यक्रमले विदेशमा नेपाली समुदायको पहिचान थप उजागर गरेको छ। स्थानीय संघसंस्थाहरूले पनि इनास वेल्सलाई नेपाली सम्पदा चिनाउने उत्कृष्ट प्रयासका लागि धन्यवाद प्रकट गरेका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्