पूर्वका विभिन्न स्थानमा भारी वर्षा, बाढीको उच्च सम्भावना

काठमाडौँ — देशको पूर्वी क्षेत्रमा रातिदेखि लगातार भारी वर्षा भइरहेको छ । विशेषगरी इलाम र झापामा अत्यधिक वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

झापाको बाहुनडाँगी वर्षामापन केन्द्रमा अत्यधिक वर्षा मापन भएसँगै निन्दा खोला, मेची नदी तथा तटीय क्षेत्रहरूमा पानीको बहाव तीव्र हुने सम्भावना रहेकाले बाढी पूर्वानुमान महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ ।

आज दिउँसो देशका केही भागमा हल्कादेखि मध्यम वर्षा हुने बताइएको छ । विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

मौसमविद् उज्ववल उपाध्यायका अनुसार आज रातिदेखि वर्षा थप तीव्र हुने अनुमान गरिएको छ । कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

उनका अनुसार भोलि आइतबार दिउँसोदेखि सोमवार बिहानसम्म देशभर भारी वर्षाको सम्भावना रहेकाले बागमती, कोशी र गण्डकी जलाधार क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता छ ।

“अत्यधिक वर्षा हुने भएकाले सम्भव भएसम्म लामो दूरीको यात्रा नगर्न अनुरोध छ,” उपाध्यायले भने, “पहाडी र नदी किनारका क्षेत्रका बासिन्दालाई विशेष सतर्कता आवश्यक छ ।”

बढ्दो वर्षाका कारण संभावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन र नागरिकलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले पुनः आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्