भारतको बिहार राज्यमा बुधवार र बिहीवार परेको भीषण आँधी र वर्षासँगै परेको चट्याङले कम्तीमा ३३ जनाको ज्यान गएको छ । चट्याङबाट केही मानिस घाइते भएको जानकारी भारतको विपद् व्यवस्थापन विभागले एक विज्ञप्तिमार्फत दिएको छ ।
विभागका अनुसार ज्यान गुमाउनेमध्ये अधिकांश खुला ठाउँमा काम गरिरहेका किसान तथा मजदुरहरू रहेका छन् । घटनापछि विपद् व्यवस्थापन मन्त्री विजयकुमार मण्डलले सम्बन्धित जिल्ला अधिकारीहरूलाई चट्याङको सम्भाव्यतालाई मध्यनजर गर्दै सावधानी अपनाउन नागरिकलाई तुरुन्त सूचित गर्न निर्देशन दिएका छन् ।
पटनाका केही भागहरूमा अझै पनि ठूलो वर्षा र चट्याङको सम्भावना कायमै रहेको स्थानीय मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
बिहार राज्यमा विगतका वर्षहरूमा पनि चट्याङका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ । सन् २०२३ मा मात्रै २७५ जनाको र सन् २०२४ मा हालसम्म २४३ जनाको ज्यान गएको तथ्याङ्कले देखाएको छ ।
प्राकृतिक प्रकोपको उच्च जोखिममा पर्ने क्षेत्रहरूमध्ये एक मानिने बिहारमा चट्याङका घटनाहरू वर्षात्को समयमा सामान्य भए तापनि यसपालि अस्वाभाविक रूपमै मृत्यु संख्या बढेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन जनतालाई आह्वान गरेको छ ।






