काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले देशभर टेलिग्राम एप (Telegram App) को पहुँच तत्काल रोक लगाउन सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ। प्राधिकरणले एक अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै टेलिग्राममार्फत भइरहेका अनलाइन ठगी (Online Fraud) र मनी लाउन्डरिङ जस्ता गम्भीर आपराधिक गतिविधिमा संलग्नता बढिरहेको जानकारी दिएपछि यस्तो निर्णय गरिएको हो।
प्राधिकरणले सार्वजनिक सूचनामा भनेको छ — “नेपालमा सञ्चालित टेलिग्राम एपमार्फत अनलाइन ठगी र मनी लाउन्डरिङ जस्ता गम्भीर अपराधहरू बढिरहेका छन् भन्ने बुझिएपछि टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्था गर्न सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई यही सूचना मार्फत निर्देशन दिइएको छ।”
प्राधिकरणको लोगोसहित जारी गरिएको सूचनामा सबै सेवा प्रदायकहरूले तत्काल कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ। यस निर्णयसँगै नेपालमा टेलिग्राम एपको प्रयोगमा प्रतिबन्ध लाग्नेछ।
यो सूचना नेपाल दूरसञ्चार प्राधिकरण, जमल, काठमाडौंबाट जारी गरिएको हो।