काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच शुक्रबार बिहान विशेष भेटवार्ता भएको छ। नेता कोइराला भण्डारीलाई भेट्न उनको निजी निवास पुगेका थिए। दुई नेताबीच करिब एक घण्टा लामो संवाद भएको स्रोतहरूले जनाएका छन्।
स्रोतका अनुसार, भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आफू अब सक्रिय राजनीतिमा प्रवेश गरेको जानकारी दिँदै कोइरालासँग सहकार्यको अपेक्षा राखेकी थिइन्। “विद्या भण्डारीजीले आफू राजनीतिमा आएको शेखरजीसँग बताउनु भयो। उहाँले नेता शेखरको साथको अपेक्षा राख्नुभएको छ,” स्रोतले भन्यो।
नेता कोइरालाले पूर्वराष्ट्रपतिको राजनीतिक सक्रियतालाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए। देशमा बढ्दो बेथिति, भ्रष्टाचार र कुशासनका विरुद्धमा भण्डारीजस्ता व्यक्तित्वले सशक्त आवाज उठाउनुपर्ने कोइरालाको धारणा थियो।
भेटवार्तालाई नेपाली राजनीतिमा संभावित नयाँ ध्रुवीकरणका रूपमा समेत विश्लेषण गर्न थालिएको छ।