काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्व हस्तान्तरण गर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। पत्रकार विजयकुमारसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यस्तो धारणा राख्दै भण्डारीलाई एमालेको औपचारिक राजनीतिक संरचनामा फर्काउने कुनै निर्णय नभएको जनाए।
उनका अनुसार पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा सक्रिय राजनीतिमा फर्कन इच्छुक रहेको घोषणा गरे पनि त्यससम्बन्धी कुनै आधिकारिक परामर्श नभएको हो। ओलीले भने, “मसँग सरसल्लाह गर्नुभएन। पार्टीसँग पनि उहाँले आधिकारिक ढंगले कुरा गर्नुभएन।”
ओलीले भण्डारीसँग संगठनात्मक नेतृत्वका लागि आवश्यक अनुभवको अभाव रहेको पनि बताए। “उहाँ लामो समयदेखि पार्टी कामबाट टाढा हुनुहुन्छ। पहिले पनि संगठनको नेतृत्व गरेर समग्र पार्टी सञ्चालन गर्नुभएको अनुभव छैन,” उनले भने। पूर्वराष्ट्रपतिले राजनीतिक सक्रियता पुनः सुरु गर्दा संविधानिक गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्न सक्ने ओलीको तर्क छ। उनले भने, “उहाँ आउनुहुन्छ कि हुँदैन, मोरल्ली ठीक हुन्छ कि हुँदैन, गणतन्त्रमा, समाजमा, व्यवस्थामा के असर पर्छ — यी सबै पक्ष पार्टीले विचार गर्नैपर्छ।”
प्रधानमन्त्री ओलीले पार्टी भित्र भण्डारीको सम्भावित पुनरागमनलाई लिएर आवश्यक छलफल हुने जनाउँदै अन्तिम निर्णय पार्टीले सामूहिक रूपमा लिने बताएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले राजनीतिमा पुनः सक्रिय हुने संकेत दिए पनि प्रधानमन्त्री ओलीको यो स्पष्ट धारणा पार्टीको तत्कालीन रणनीतिमा ठूलो परिवर्तन नआउने सङ्केत हो। भण्डारीको राजनीतिक पुनरागमनको सन्दर्भमा अब एमालेभित्र व्यापक छलफल र रणनीतिक मूल्याङ्कन हुने देखिन्छ।