कञ्चनपुर — सुदूरपश्चिमका प्रतिभाशाली कलाकारहरूलाई सम्मान र प्रोत्साहन दिने उद्देश्यले चौथो राष्ट्रिय ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को आवेदन फारम खुला गरिएको छ। सुप इन्टरटेन्मेन्ट हाउस प्रालि धनगढी र बाडुल्की मिडिया हाउस प्रालि कञ्चनपुरको संयुक्त आयोजनामा हुन लागेको यो प्रतिष्ठित म्युजिक अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न गरिने तयारीमा रहेको छ।
सुप इन्टरटेन्मेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्दका अनुसार कार्यक्रमको तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ। सन् २०७९ मा पहिलो संस्करणबाट सुरु भएको यस अवार्डलाई निरन्तरता दिइँदै आएको छ। उनले बताएअनुसार अवार्डले सुदूरपश्चिमका कलाकारहरूलाई राष्ट्रिय मञ्चमा चिनाउने, प्रोत्साहन गर्ने र सिर्जनशीलताको उचित मूल्याङ्कन गर्ने उद्देश्य राखेको छ।
यस वर्ष अवार्डमा भाषाभाषी, लोक, डेउडा, आधुनिक, राना थारु तथा मौलिक/चाडपर्वका गीत विधामा पुरस्कार प्रदान गरिनेछ। प्रत्येक विधाभित्र सर्वोत्कृष्ट गीत, गायक/गायिका, नव-गायक/गायिका, अभिनय, नव-अभिनय, सर्जक, निर्देशक, संगीतकार, ध्वनी सम्पादन, एरेञ्जर, छायांकन, भिडियो सम्पादन, श्रृंगार, कोरियोग्राफर लगायतका उप-विधामा अवार्ड प्रदान गरिनेछ। साथै उद्घोषक, कला पत्रकारिता र खोजमूलक पत्रकारिता (पुरुष र महिला) विधामा पनि अवार्ड समावेश गरिएको छ।
अवार्डमा सहभागिता जनाउन चाहने व्यक्तिहरूले रु. १००० को आवेदन शुल्क बुझाउनु पर्नेछ। विजेता छनोट प्रक्रिया जनमत भोट ४० प्रतिशत, निर्णायक मण्डलको निर्णय ५० प्रतिशत र आयोजकको मत १० प्रतिशतको आधारमा हुनेछ। सहभागी भइसकेपछि कुनै विवाद गर्न नपाइने व्यवस्था आयोजकले स्पष्ट पारेका छन्।
सुदूरपश्चिमको सांगीतिक क्षेत्रलाई थप ऊर्जा प्रदान गर्ने र लुकेका प्रतिभाहरूलाई उजागर गर्दै राष्ट्रिय पहिचान दिलाउने लक्ष्यसहित सञ्चालन हुने यस अवार्ड कार्यक्रममा सहभागी हुन नेपाल तथा भारतमा निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ: नेपाल — ९८४८५४१४१०, ९८४८६९८९४४, ९७६७४१८०९०; भारत — ८८४८१५७४४५, ९५६६२६००५७, ८३२९२७८९११, ९००४२९७४५२।
संगीतप्रेमीहरू र कलाकारहरूका लागि यो अवार्ड सुदूरपश्चिमबाट उदाउँदै गरेको सांगीतिक प्रतिभाको उज्यालो र सशक्त माध्यम बन्ने विश्वास गरिएको छ।