काठमाडौं — मुलुकको बदलिंदो राजनीतिक सन्तुलन र पछिल्ला विवादास्पद घटनाक्रमका सन्दर्भमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गम्भीर छलफल भएको छ।
बिहीबार दिउँसो करिब दुई घण्टा खुमलटारस्थित प्रचण्ड निवासमा बसेको भेटवार्तामा समसामयिक राजनीतिक स्थिति, सरकारको धरातल, भ्रष्टाचार प्रकरण र आगामी सत्ता समीकरणको सम्भावित परिदृश्यबारे विस्तृत संवाद भएको स्रोतले जनाएको छ।
यो भेटवार्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरण, मन्त्री बलराम अधिकारीको मन्त्रिपरिषद् पुनर्गठन संकेत, र नेकपा (एमाले) तथा कांग्रेसबीच बढ्दो समीकरणको पृष्ठभूमिमा भएको हो। यी सबै घट्नाले सत्ता साझेदारीको नयाँ मोड लिन सक्ने अनुमान गरिएको छ।
शेखर कोइराला, जो नेपाली कांग्रेसभित्र सधैँ शुद्धिकरण, जवाफदेहिता र वैचारिक स्पष्टताका पक्षमा उभिँदै आएका छन्, उनले प्रचण्डसँगको भेटमा हालको शक्तिसन्तुलन, भ्रष्टाचारविरुद्धको आन्तरिक नीतिगत स्पष्टता, र सम्भावित सत्ता पुनर्संयोजनबारे पनि आफ्नो धारणा राखेको भन्ने बुझिएको छ।
सत्ता समीकरणको नयाँ संकेत?
गत साता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएका वार्ताले नेपालको केन्द्रिय राजनीति फेरि नयाँ समीकरणतर्फ उन्मुख भएको संकेत दिएको थियो। त्यसको ठीकपछि प्रचण्ड र शेखरबीच भएको भेटले माओवादी केन्द्रलाई राखेर सत्ता पुनः गठबन्धनको तयारी त होइन? भन्ने संशय पनि जन्माएको छ।
शेखर कोइराला र प्रचण्डबीचको सम्बन्ध विगतमा उतारचढावपूर्ण रहे पनि आजको भेटलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । यसपटक पनि गम्भीर आर्थिक काण्ड, सार्वजनिक असन्तुष्टि र गठबन्धनभित्रको असमझदारीबीच यो संवाद भएको हो।