मन्त्री बलराम अधिकारीको खुलासा: ‘मन्त्रिपरिषद् पुनर्गठनको सहमति भइसकेको छ’

काठमाडौं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले निकट भविष्यमा मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का संकेत दिएका छन्। बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले ‘मन्त्रिपरिषद् पुनर्गठनको सहमति पहिले नै भइसकेको’ खुलासा गरेका हुन्।

पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीले एक अडियो प्रकरणलाई संकेत गर्दै प्रश्न राखेका थिए — “त्यस्तै अडियोका कारण त मन्त्री पद गयो नि?” यसप्रति प्रतिक्रिया दिँदै मन्त्री अधिकारीले भने, “मन्त्री पद त सधैंको लागि होइन नि। एक वर्षपछि मन्त्रिपरिषद् पुनर्गठन हुने सहमति नै हो। सहमतिको आधारमा पुनर्गठन हुनेवाला नै छ।” उनका अनुसार आगामी पुनर्गठनमा को रहन्छन्, को हट्छन् भन्ने विषय फरक कुरा हो। “सबैजना हुने भन्ने पनि होइन,” उनले भने।

मन्त्री अधिकारीले पदमा रहँदासम्म जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए। “जहिलेसम्म होइन्छ, आफूलाई परेको जिम्मेवारी जिम्मेवार तरिकाबाट पूरा गर्ने हो,” उनले भने, “जुन बेला जुन ठाउँमा जिम्मेवारी आउँछ, त्यसअनुसार अघि बढ्नुपर्छ।”

अडियो प्रकरणमा संलग्नता नभएको दाबी

हालै सार्वजनिक भएको एक अडियो प्रकरणप्रति संकेत गर्दै उनले त्यसमा आफू संलग्न नभएको दाबी पनि गरे। “यदि संलग्नता देखिए, म कारबाही भोग्न तयार छु,” मन्त्री अधिकारीको भनाइ थियो। सार्वजनिक रूपमै मन्त्रिपरिषद् पुनर्गठनको सन्देश दिएका मन्त्री अधिकारीका भनाइलाई सत्तारूढ गठबन्धनको आन्तरिक समीकरणसँग समेत जोडेर हेरिएको छ। यस्तो सन्देश यस्तो समयमा आएको हो जब सरकारका केही मन्त्रीहरू विभिन्न विवादमा तानिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्