प्रचण्डको निर्देशन : वाइसिएल तयार रहनुहोस्, सडकमा सरकारको प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्छ

File Photo

काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जनभावनाविपरीत जान थालेको भन्दै यसको प्रतिवादका लागि तयारी अवस्थामा रहन आफ्नै पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)लाई निर्देशन दिएका छन्।

ललितपुरमा बिहीवार आयोजित ‘श्रम उत्पादनमा वाइसिएल अभियान’को शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले वाइसिएल कार्यकर्ताहरूलाई जुनसुकै बेला सडकबाट सरकारको प्रतिवाद गर्नुपर्ने परिस्थिति आउन सक्ने बताएका हुन्।

‘सावधानी गर्दै गर्दा पनि सरकार भ्रष्टाचारमा लिप्त हुन थालेको छ, जनभावनाविपरीत गइरहेको छ,’ प्रचण्डले भने, ‘यस्तो स्थितिमा हामीले छिट्टै सडकबाटै प्रतिवाद गर्नु पर्ने अवस्था आउन सक्छ। त्यसका लागि सबै वाइसिएल कार्यकर्ताहरू तयार रहनुहोस्।’

उनले वाइसिएल नेपालले सञ्चालनमा ल्याएको ‘श्रम अभियान’ माओवादी आन्दोलनको “उत्पादन ब्रिगेड” को निरन्तरता भएको उल्लेख गरे। यो अभियान पार्टीको वैचारिक गहिराइसँग जोडिएको र व्यवहारिक अभ्यासमार्फत राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने लक्ष्य रहेको उनले स्पष्ट पारे। ‘केन्द्रीय समिति गठनपछि भएको पहिलो पदाधिकारी बैठकमै मैले पार्टी र वाइसिएलले उत्पादन तथा राष्ट्रिय अर्थतन्त्र निर्माणमा अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन दिएको थिएँ,’ उनले भने, ‘त्यसै अनुसार देशैभरि यस्ता कार्यक्रम सञ्चालन गर्न थालिएको हो।’

प्रचण्डले युवालाई भ्रष्टाचारविरुद्धको संघर्षमा सशक्त भूमिका खेल्न आह्वान गर्दै श्रम, उत्पादन र राष्ट्र निर्माणमा लाग्न प्रेरित गरे। उनले वाइसिएलको अभियानले सामाजिक रूपान्तरणको नयाँ बाटो खोल्ने विश्वास व्यक्त गरे।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्