काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाट सुरु गर्नुपर्ने बताएका छन्। विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री खड्काले भने, “हामीले भनेको समाजवाद ऊर्जा क्षेत्रबाटै सुरु गरौं। सबै नागरिकले सहभागी हुन सक्ने गरी ऊर्जा क्षेत्रलाई अगाडि बढाउनु अत्यावश्यक छ।”
उनले ऊर्जा क्षेत्रमा समावेशीता र पहुँचलाई प्राथमिकतामा राखेर सरकार क्रियाशील रहेको बताए। “समृद्धि हुनेको मात्र नभई नहुनेको घरसम्म पनि पुग्नुपर्छ। त्यसरी मात्र ऊर्जा क्षेत्रको विकास सार्थक हुन्छ र समाजवादको अभ्यास पनि त्यहींबाट सुरु हुन्छ,” मन्त्री खड्काले भने।
खड्काले ऊर्जा क्षेत्रमा सबै नागरिकको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै अझै देशका केही भागमा विद्युत नपुगेको यथार्थ पनि स्वीकारे। “अझै पनि सबै घरमा विद्युत पुर्याउन सकेका छैनौं। सबै चुल्होमा बिजुली पुग्ने गरी मन्त्रालय लागिरहेको छ,” उनले स्पष्ट पारे। ऊर्जा क्षेत्रमा विगतमा भएका कामको समीक्षा गर्दै मन्त्री खड्काले विगतको जगमा उभिएर परिमार्जन र परिवर्तन गरिरहेको बताए। उनले विद्युत आयोजनामा अकल्पनीय क्षति हुने गरेको भन्दै क्षति न्यूनीकरणमा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
“विद्वान र राजनीतिक वृत्तका व्यक्तिहरूका धारणा पनि सुनेको छु। जे जस्तो भनाइ भए पनि ऊर्जा क्षेत्रमा ढिलासुस्ती गर्नु हुँदैन भन्ने सोचका साथ अघि बढ्नु जरुरी छ,” मन्त्री खड्काले उल्लेख गरे। उनका अनुसार ऊर्जा क्षेत्रको समावेशी विकासमार्फत मात्रै मुलुकले समृद्धिको दिशा लिन सक्नेछ।