काभ्रेपलाञ्चोक – सक्रिय मनसुनका कारण बाढीपहिरोको जोखिम बढेपछि बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि नेपालथोकसम्म साउन १ गतेदेखि रातिको सवारी सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म १२ घण्टा सवारी साधन सञ्चालनमा प्रतिबन्ध लागु गरिएको हो।
सुरक्षा समितिको निर्णयअनुसार एक महिनासम्म यो व्यवस्था लागू हुनेछ। प्रमुख जिल्ला अधिकारी उमेश ढकालले वर्षाका कारण जोखिम बढेको भन्दै सुरक्षा उपायस्वरूप रातिको सवारी रोकिएको बताए। गत वर्षको बाढीपहिरोले राजमार्गको विभिन्न भागमा क्षति पुर्याएको थियो। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार सिन्धुलीको खुर्कोटदेखि काभ्रेको धुलिखेलसम्म ८४ किलोमिटर सडकखण्डमा क्षति पुगेको छ। स्थायी मर्मतका लागि चार खण्डमा ठेक्का प्रक्रिया अगाडि बढाइएको छ। पूर्वी नेपाल जोड्ने यो राजमार्गबाट दैनिक सयौं सवारी आवतजावत गर्दै आएका छन्।