दार्चुलामा तुइनबाट खसेर एकजना महाकालीमा बेपत्ता, खोजी कार्य जारी

दार्चुला — दार्चुला जिल्लामा तुइन दुर्घटनामा परेर एक व्यक्ति बेपत्ता भएका छन्। व्याँस गाउँपालिका–२ दुम्लिङका नारायण बुढाथोकी आज मध्यान्ह तुइनबाट खसेर बेपत्ता भएका हुन्।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार बुढाथोकी दिउँसो करिब साढे ११ बजे दुम्लिङबाट तुइनमार्फत महाकाली नदी पार गर्दै भारतीय बजारतर्फ जाँदै गर्दा तुइन अचानक चुडिएर उनी नदीमा खसेका थिए। खसेको केही समयपछि देखिनै छाडेका बुढाथोकीको अवस्थाबारे अहिलेसम्म जानकारी प्राप्त भएको छैन।

घटनापछि तत्कालै प्रहरीले खोजी कार्य प्रारम्भ गरेको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी घटनास्थलमा खटिई बेपत्ताको खोजी कार्यमा जुटेका छन्। नदीको बहाव तीव्र भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महाकाली नदीमा बारम्बार तुइन दुर्घटनाले मानव जीवनमा जोखिम निम्त्याइरहेकाले वैकल्पिक सुरक्षित पुलको व्यवस्था गर्न स्थानीय बासिन्दाहरूले सरकारसँग माग गर्दै आएका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्