काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा दिएका राजकुमार गुप्ताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कडा माग राखेको छ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गुप्तालाई मात्रै राजीनामा दिएर उम्कन नदिइने स्पष्ट पारे। “राजीनामा दिएर मात्रै हुँदैन,” सांसद शाहीले भने, “घूस प्रकरणमा संलग्न बहालवाला मन्त्रीमाथि छानबिन हुनुपर्छ, उनलाई तुरुन्त पक्राउ गर्नुपर्छ।”
शाहीले गुप्ताको संलग्नता पुष्टि गर्नेजस्तो अडियो सार्वजनिक भइसक्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) किन निष्क्रिय देखिएको हो भन्ने प्रश्न उठाए। “घूसको डिल गर्ने अडियो सार्वजनिक भइसकेको छ,” उनले भने, “अख्तियार के हेरेर बसिरहेको छ ? किन छानबिन प्रारम्भ भएको छैन ?”
उनले गम्भीर आरोपमा मन्त्रीले आफैं राजीनामा दिनु भनेको दोष स्वीकारेजस्तो व्यवहार भएको भन्दै दोषीलाई कानूनी दायरामा ल्याउन ढिलाइ नगरिनुपर्ने तर्क गरे। गुप्ता पछिल्लो समय एक घूससम्बन्धी अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए। सार्वजनिक अडियोमा उनले एक कार्यसँग सम्बन्धित सिफारिसमा आर्थिक लेनदेनको बार्गेनिङ गरिरहेका जस्तो सुनिन्छ। राप्रपाको यस मागपछि सत्ता पक्ष र अख्तियारमा यसबारे थप दबाब बढ्ने देखिन्छ।