काठमाडौं — माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको आलोचनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लडलाइट र प्यारापिटको काम भइरहेको भन्दै कीर्तिपुर रंगशाला पुगेर अवलोकन गर्न सुझाव दिएका छन्।
प्रतिनिधिसभामा दाहालले ‘तीन सय दिनमा फ्लडलाइट र प्यारापिट कहाँ बन्यो?’ भन्दै प्रश्न उठाएका थिए। उनले आफू प्रधानमन्त्री हुँदा कीर्तिपुर रंगशालामा फ्लडलाइट जडानको ठेक्का सम्झौता भएको दाबी गर्दै ओली सरकारले त्यो कार्यान्वयन नगरेको आरोप लगाएका थिए।
दाहालको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले फेसबुकमार्फत दिएका छन्। उनले लेखेका छन्, “पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले प्रश्न सोध्नु भएछ— कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट? खोई प्यारापिट? मेरो उहाँलाई आग्रह छ— बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।”
ओलीले दाहालले प्रधानमन्त्री हुँदा कुनै ठोस कार्ययोजना, निर्णय वा समयसीमा नतोकेको आरोप समेत लगाएका छन्। “तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम। मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें,” ओलीले लेखेका छन्।
प्रधानमन्त्री ओलीले देशको आर्थिक अवस्थाबारे पनि टिप्पणी गर्दै दाहालको कार्यकालमा अर्थतन्त्र कमजोर अवस्थामा रहेको र अहिले सुधार भइरहेको दाबी गरेका छन्। राजनीतिक नेतृत्वबीचको यो आरोप–प्रत्यारोपसँगै सार्वजनिक परियोजनाको प्रभावकारिता र समयमै कार्यान्वयनको विषय फेरि एकपटक चर्चामा आएको छ।