काभ्रेपलाञ्चोक — अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार, राजमार्गका विभिन्न ८ स्थानमा पहिरो र लेदो हटाइएपछि मंगलबार बिहानदेखि सडक पुनः सञ्चालनमा आएको हो।
सोमबार राति परेको भीषण वर्षाले रोशी गाउँपालिका–९ को पिन्थलीबेशी, बिरुवाडाँडामा रहेको फेदीखेला र साङखोलालगायत स्थानहरूमा बाढीपहिरो गएको थियो। साथै, रोशी–११ को कालढुंगा, रोशी–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा समेत ठूलो मात्रामा लेदो जमेको थियो। सडक खुलाउने कार्यमा सडक विभाग र निर्माण कम्पनी एवन निर्माण सेवा संयुक्त रूपमा खटिएका थिए। प्रहरी प्रमुख कार्कीले सुरक्षाकर्मी, प्राविधिक र स्थानीयको सक्रियतामा पहिरो हटाएर सडक खुलाइएको जानकारी दिए।
त्यस्तै, रोशीकै पिप्ले, पानीतारे नजिक झरेको पहिरो, र काभ्रे–सिन्धुलीको सिमानामा पर्ने बर्खेखोलामा आएको बाढीले क्षति पुर्याएको सडकसमेत मर्मत गरिएको छ। बीपी राजमार्ग सोमबार राति ८ बजेदेखि पूर्णरूपमा अवरुद्ध थियो। बारम्बारको वर्षा र पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूले निरन्तर सास्ती खेपिरहेका छन्।
सुरक्षाको दृष्टिकोणले काभ्रे र सिन्धुली जिल्लाका प्रहरीले सवारीसाधन होल्ड गर्दै जोखिम न्यूनिकरण गरेका थिए। यस खण्डमा वर्षायामभर विशेष निगरानीका साथ सडक सञ्चालन सुनिश्चित गर्नुपर्ने माग उठ्दै आएको छ। प्रशासनले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।







