कांग्रेस–एमालेको आग्रह : जसपासँग पुनः सत्ता सहकार्यको प्रयास

काठमाडौं — प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) ले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई फेरि सत्ता सहकार्यमा ल्याउने प्रयास थालेका छन्। सोमबार अबेर बालुवाटारमा बसेको छलफलमा कांग्रेस–एमालेले विगतका कमजोरी सुधार्न तयार रहेको संकेत दिँदै सहकार्यको प्रस्ताव राखेका हुन्।

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर यादवका अनुसार, कांग्रेस–एमालेले ‘कोर्स करेक्सन’ गर्ने प्रतिबद्धता जनाउँदै विगतका असहमति सच्याएर सहकार्य अगाडि बढाउने प्रस्ताव गरेका थिए। तर जसपाले विगतमा भएका बेवास्ता, बजेट बाँडफाँडमा अन्याय, गठबन्धन निर्णयमा सहभागिता नपाएको लगायत गुनासो राख्दै ‘प्याकेज सहमति’ बिना सहकार्य सम्भव नभएको स्पष्ट पारेको छ।

‘हामीलाई सत्ता साझेदारको व्यवहार भएन, मधेसमा बाइपास गरियो, संविधान संशोधन जस्ता मुद्दामा निष्क्रियता देखियो,’ यादवले भने। उनका अनुसार, संसदमा विचाराधीन भूमिसम्बन्धी विधेयकमा जसपाको दृष्टिकोण समेटिनुपर्ने, बजेट न्यायोचित हुनुपर्ने, र गठबन्धन निर्णयमा अपनत्वको सुनिश्चितता हुनुपर्ने माग राखिएको छ।

बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत नेताहरू सहभागी थिए। अब सहकार्य सम्भावनाको टुंगो कार्यदलमार्फत सहमति जुटेपछि मात्रै लाग्ने सहमति बनेको जसपाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्