काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग सम्बन्धित घुसको अडियो सार्वजनिक भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकमा उनीबारे कुनै छलफलै नहुनु राजनीतिक वृत्तमा आश्चर्यको विषय बनेको छ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्ता पनि सहभागी थिए। तर, बैठकमा उनीमाथि उठेको गम्भीर आरोपसम्बन्धी कुनै एजेन्डा नउठेपछि छलफल नै नगरी बैठक टुंगिएको हो। यसअघि सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाएर व्यक्तिगत रूपमा छलफल गरेका थिए। उच्च स्रोतका अनुसार सो भेटमा गुप्तालाई राजीनामा दिन दबाव दिने तयारी समेत गरिएको थियो। तर, साँझको बैठकमा सो विषय एक शब्द पनि उठेन।
यस घटनाले सत्तापक्षभित्रको आन्तरिक रणनीति र संकट व्यवस्थापनको शैलीप्रति प्रश्न खडा गरिदिएको छ। सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म मन्त्री गुप्ताको राजीनामा वा कारबाहीको माग उठिरहेका बेला मन्त्रिपरिषद् बैठकमा मौनता साँधिनु सरकारको निष्पक्षता र जवाफदेहितामाथि गम्भीर शंका उब्जिएको देखिन्छ।






