काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रतिनिधिसभाका दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारमाथि कडा प्रहार गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सत्तालाई विचौलिया र भ्रष्टाचारीहरूको संरक्षणमा चलाएको आरोप लगाए। “जहाँ सरकार पुग्छ, त्यहाँ भ्रष्टाचारको सञ्जाल देखिन्छ”, उनले भने।
भूमिहीन सुकुम्बासीको सवालमा आफ्नो नेतृत्वमा बनेको सरकारले ठोस प्रगति गरेको उल्लेख गर्दै प्रचण्डले भने, “हामीले भूमिसम्बन्धी आयोगमार्फत काम अगाडि बढायौं। तर, अहिलेको दुई तिहाइको सरकारले आयोगका पदाधिकारीहरू हटाउनु बाहेक केही गरेको छैन।”
सरकारका मन्त्रीहरू सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौं रुपैयाँको डिल गरिरहेको खबर सार्वजनिक भएकोप्रति उनले चिन्ता व्यक्त गरे। “प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ भन्नुभएको थियो। तर आज आमजनताले उहाँको त्यो अभिव्यक्ति जाली ठान्न थालेका छन्,” प्रचण्डको आरोप थियो।
उनले प्रधानमन्त्रीले विगतमा दिएको ‘चित्रगुप्तलाई पनि बयान दिन तयार छु’ भन्ने अभिव्यक्तिको स्मरण गराउँदै भने, “अहिले त जहाँ सरकार, त्यहाँ भ्रष्टाचार। अब चित्रगुप्तलाई प्रधानमन्त्रीले के बयान दिनुहुन्छ?” प्रचण्डको यो अभिव्यक्ति सत्तापक्षमाथि प्रतिपक्षले बढ्दो अविश्वास र जनआक्रोशलाई संकेत गर्ने गरी आएको हो।