स्पेन भिसा प्रकरणमा गृहमन्त्री लेखकले बोलाए आकस्मिक बैठक

काठमाडौं — गृहमन्त्री रमेश लेखकले स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरूको विषयमा गम्भीर चासो व्यक्त गर्दै आज सोमबार आकस्मिक बैठक डाकेका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार सिंहदरबारमा साढे १ बजे बस्ने बैठकमा गृहसचिव गोकर्णमणि दवाडी, प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन ब्युरो प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभाग प्रमुख गोविन्द रिजाल सहभागी हुनेछन्।

बैठकमा स्पेन लैजाने नाममा अनधिकृत रूपमा रकम संकलन गर्ने एनजीओ वा आईएनजीओको पहिचान र कानुनी कारबाहीका लागि विस्तृत छानबिन सुरु गर्ने तयारी गरिएको छ। मन्त्रालय स्रोतका अनुसार भिसाको दुरुपयोग र मानव बेचबिखनको आशंका बढेपछि गृहमन्त्री लेखक आफैँले यो विषयलाई प्राथमिकतामा राखेका हुन्।

यसअघि सोमबार बिहान गृहमन्त्री लेखकले गृहसचिव दवाडी र आईजीपी थापालाई मन्त्रालयमा बोलाएर प्रारम्भिक जानकारी लिँदै छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।

स्पेन घटनाको विस्तृत विवरण सार्वजनिक भइनसकेको भए पनि सरकारी अनुमति बिना पैसा उठाइ जनशक्ति पठाउने प्रयास भइरहेको आशंकामा सरकार उच्च सतर्क भएको छ। गृहमन्त्रालयले छिट्टै प्रारम्भिक प्रतिवेदन ल्याउने तयारी गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्