काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको एक वर्षको कार्यकाल पूरा भएको अवसरमा सुधारका सुस्पष्ट संकेत देखिन थालेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले लेखेका छन्, “पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकारले एक वर्ष पूरा गरेको छ। यो एक वर्षमा देशको ओरालो यात्रा रोकिएको छ र सुधारका सुस्पष्ट परिणामहरू देखिँदै छन्।”
२०७९ सालपछि लामो समय अस्थिरतामा रहँदै आएको सत्ता समीकरणलाई कांग्रेस–एमालेको सहमतिको सरकारले १७ असार २०८१ मा सात बुँदे सहमति गर्दै नया ढंगले अघि बढाउने सहमति गरेको थियो। सोही सहमतिअनुसार ३० असार २०८१ मा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए।
सहमति अनुसार सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले पालैपालो नेतृत्व गर्ने गरी दुई चरणमा कार्यकाल बाँडफाँड गरिएको छ। पहिलो चरणमा ओली प्रधानमन्त्री रहने र दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व लिने सहमति भएको हो।
सरकार गठनको एक वर्ष पुग्दा प्रमुख सत्ता दलका नेताहरूले प्राप्त उपलब्धिहरूको समीक्षा गर्दै सरकार सुधारको दिशामा अग्रसर रहेको दाबी गरेका छन्। महासचिव पोखरेलको भनाइले सरकारको निरन्तरता र सुधारको सन्देश दिन खोजिएको देखिन्छ।