काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन्। सोमबार बिहानै गुप्ता बालुवाटार पुगिसकेका छन्।
कास्कीमा मालपोत कार्यालय प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा तानिएका हुन्। सार्वजनिक अडियो संवादमा गुप्ता एक विचौलियासँग रकमको बार्गेनिङ गरिरहेका छन् भन्ने आशंका गरिएको छ।
यस घटनाले राजनीतिक वृत्तमा तहल्का मच्चाएको छ। मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्नुपर्ने आवाज सत्तारूढ दलभित्रैदेखि उठिरहेको छ। सोही विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले उनलाई बालुवाटार बोलाएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री कार्यालयले भने यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन। तर राजनीतिक र प्रशासनिक क्षेत्रले गम्भीर आरोपका बीच मन्त्री गुप्ताको राजीनामा वा बर्खास्तको सम्भावनालाई टुलुटुलु हेरिरहेको छ।