काठमाडौं, असार २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रिपरिषद्का केही सदस्यको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै संसद्मा सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार प्रतिनिधिसभामा बोल्दै रास्वपाकी सांसद सुमना श्रेष्ठले हालै सार्वजनिक भएको अडियो प्रकरण, भूमि आयोगमा देखिएको सेटिङ र मन्त्रिमण्डलभित्रको आन्तरिक रस्साकस्सीप्रति गहिरो चिन्ता व्यक्त गरिन्।
“मन्त्रिमण्डलको अर्को काण्ड – कास्कीको कार्यालयमा को पठाउनेमा सेटिङ, घुस; जिल्लाको भूमि आयोगको अध्यक्षमा सेटिङ – किन भूमि विधेयक फास्ट ट्र्याक गर्न खोजिएको बुझियो,” उनले भनिन्। श्रेष्ठले एक मन्त्रीले अर्का मन्त्रीमाथि नै आरोप लगाउने स्थिति आउनु सरकारको गम्भीर कमजोरी भएको बताइन्। “एउटा मन्त्रीले अर्को मन्त्रीलाई पोलेको छ – यसको छानबिनको हामी माग गर्छौं,” उनले स्पष्ट भनिन्।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग जोडिएको एक अडियो सार्वजनिक भएपछि संसद्मै यसको छाया परेको छ। उक्त अडियोलाई लिएर श्रेष्ठले प्रश्न गरिन्, “सम्बन्धित ठाउँ भनेको कसको ठाउँ हो? अडियोमा ‘बा’ भनेको को हुन्?” सांसद श्रेष्ठले दुई तिहाइको बहुमतको सरकारप्रति कटाक्ष गर्दै भनिन्, “दुई तिहाइको सुशासन भनेको के यही हो? आफ्नोलाई चैन, अरूलाई ऐन नै ऐन? पहिलाका अडियो काण्ड जनताले बिर्सेका छैनन् – फेरि पनि मिलिजुली भाग खानकै लागि हो दुई तिहाइ?”
उनले विगतका वर्षहरूमा शासन प्रणाली, संस्कार र सार्वजनिक उत्तरदायित्वमा के फरक आयो भन्ने गम्भीर प्रश्न उठाउँदै सरकारलाई जवाफदेहिताको माग गरेकी छन्।
रास्वपाले अडियो काण्डलगायतका विषयमा निष्पक्ष छानबिनको माग गर्दै सरकारले जनविश्वास गुमाउन नहुने चेतावनी दिएको छ।