काठमाडौं, असार २९ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गर्न सबैको सामूहिक प्रतिबद्धता अपरिहार्य रहेको बताएका छन्। आइतबार बसेको १७ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले योजनाको सफल कार्यान्वयन क्रियाशील सहभागितामै निर्भर हुने उल्लेख गरे।
“नीति तथा कार्यक्रम र बजेट पूर्ण रूपमा कार्यान्वयन गर्न हामी सबैको सामूहिक प्रतिबद्धता र सोही बमोजिम क्रियाशीलता आवश्यक हुन्छ,” मेयर शाहको भनाइ थियो।
उनले हालसम्म महानगरले पाएको साथ, सहयोग र समन्वयप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नागरिक, जनप्रतिनिधि, निजी क्षेत्र र कर्मचारीको सक्रिय सहभागीता अपेक्षित रहेको बताए।
गत शुक्रबार सम्पन्न ४०औं कार्यपालिका बैठकमा शाहले आगामी वर्षको बजेट पेश गर्ने प्रस्ताव गरेका थिए। सोअनुसार आजै २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट नगरसभामा प्रस्तुत गरिनेछ। यो सीमा महानगरको राजस्व परामर्श समितिले निर्धारण गरेको हो।
संविधान अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भए पनि काठमाडौं महानगरको आन्तरिक विवाद र समन्वय अभावले गर्दा यो प्रक्रिया ढिलो भएको हो। नगरसभा बसेसँगै अब कार्यान्वयनको चरण प्रारम्भ हुने अपेक्षा गरिएको छ।