मौद्रिक नीतिपछि सेयर बजार २९ अंकले उकालो, कारोबार ११ अर्ब नाघ्यो

काठमाडौं, असार २९ – नेपाल राष्ट्र बैंकको नयाँ मौद्रिक नीतिपछि आइतबार खुलेको सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २९.०१ अंकले वृद्धि भई २,७६०.०७ विन्दुमा पुगेको हो। बजार खुलेको एक मिनेटमै ६६ अंकले उकालो लागेको नेप्से ११:०१ बजे २७९७ अंकसम्म पुगे पनि त्यसपछि केही मुनि झरेको थियो।

आजको दिन कारोबार रकममा समेत उल्लेख्य वृद्धि देखियो। अघिल्लो दिन ९ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४१ करोड रुपैयाँको कारोबार सम्पन्न भयो। कारोबार रकम र सूचक दुवै बढ्नुमा मौद्रिक नीतिले दिएको सन्देशको सकारात्मक असर देखिएको विश्लेषण गरिएको छ।

१५८ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घट्यो। विशेषगरी माइक्रोफाइनान्स र बैंकिङ समूहमा सबैभन्दा धेरै वृद्धि देखिएको छ। माइक्रोफाइनान्स समूह ३.५० प्रतिशत र बैंकिङ समूह ३.३७ प्रतिशतले उक्लिएका हुन्। यसमा मौद्रिक नीतिले माइक्रोफाइनान्स कम्पनीहरूको लाभांश वितरणमा लगाइएको १५ प्रतिशत सीमा पुनरावलोकन गर्ने घोषणा तथा बैंकको आधार दर गणनालाई यथार्थपरक बनाउने प्रतिबद्धताले लगानीकर्ताको मनोबल बढाएको विश्लेषकहरू बताउँछन्।

अन्य बढ्ने समूहमा विकास बैंक १.४७, फाइनान्स १.८७, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.०२ र उत्पादन तथा प्रशोधन ०.३१ प्रतिशतले उक्लिए। हाइड्रोपावर समूह भने ०.८३ प्रतिशतले घट्यो भने लगानी, निर्जीवन बीमा, व्यापार, र अन्य समूह पनि सामान्य गिरावटमा रहे।

आज एनआईसी एशिया बैंक र खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्दा हिमालयन हाइड्रोपावरको मूल्य भने १० प्रतिशतले घट्यो। अन्य उल्लेख्य वृद्धि देखाउने कम्पनीमा जीवन विकास लघुवित्त, नेस्डो समृद्धि लघुवित्त, र समाज लघुवित्त रहेका छन्। यता, राप्ती हाइड्रो, भगवती हाइड्रो र पन्चकन्या माइ हाइड्रोको सेयर मूल्यमा उल्लेख्य गिरावट आयो।

धेरै कारोबार हुने कम्पनीको सूचीमा एनआईसी एशिया बैंक, बुटवल पावर कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा बैंक र सीईडीबी होल्डिङ्स परेका छन्। समग्रमा आजको बजार पूँजीकरण ४६ खर्ब रुपैयाँ पुगेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्