काठमाडौँ – काठमाडौँ महानगरपालिकाको कार्यपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँको बजेट आज नगर सभामा पेस गर्ने निर्णय गरेको छ।
महानगरको कार्यपालिकाको निर्णय अनुसार आज दिउँसो २ बजे बस्ने नगर सभामा नीति, कार्यक्रम र बजेट प्रस्ताव पेश गरिनेछ। आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाह (बालेन) र बजेट उपप्रमुख सुनिता डङ्गोलले प्रस्तुत गर्नेछन्।
महानगरले आगामी वर्षका लागि कुल बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ निर्धारण गरेको छ। कुल बजेटमध्ये ५१ प्रतिशत रकम पूर्वाधार विकासमा, २० प्रतिशत सामाजिक विकासमा, १४ प्रतिशत कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा, १२ प्रतिशत सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा, र ३ प्रतिशत आर्थिक विकासमा छुट्याइएको सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिए।
महानगरले आगामी वर्षमा आधारभूत पूर्वाधार निर्माण, सामाजिक सेवा विस्तार, सुशासन प्रवर्द्धन, र समावेशी आर्थिक वृद्धि प्राथमिकतामा राख्ने बताइएको छ। नगरसभामा आज प्रस्ताव पारित भएपछिमात्र बजेट कार्यान्वयनमा जानेछ।
महानगरले विगत वर्षहरूमा जस्तै चालु वर्षमा पनि पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ भने सामाजिक क्षेत्र र प्रशासनिक व्यवस्थापनमा सन्तुलन कायम गरिएको बताइएको छ।






