काठमाडौं — विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को प्रतिबन्ध हटाएको छ। आर्थिक अपारदर्शिता र भ्रष्टाचारको आशंकामा फिफाले सन् २०२१ को मार्च १५ मा एन्फामाथि आर्थिक नियन्त्रण (कन्ट्रोल फन्डिङ) लागू गरेको थियो।
त्यसयता फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोग आफ्नै नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिने प्रबन्ध गरेको थियो। चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (GACC) को बैठकले सो प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
फिफाले एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा आर्थिक पारदर्शिता र सुशासन सुनिश्चित गरिएको विश्वास गर्दै प्रतिबन्ध हटाइएको पत्र पठाएको एन्फाले जानकारी दिएको छ। यससँगै अब एन्फाले स्वतन्त्र रूपमा फिफाबाट प्राप्त आर्थिक सहयोग प्रयोग गर्न सक्ने भएको छ।
एन्फाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “निर्वाचन पश्चात संस्था सुधार, भद्रगोल व्यवस्थाको अन्त्य र पारदर्शिता कायम गर्ने लक्ष्यका साथ थालिएको यात्रा आज सकारात्मक मोडमा आइपुगेको छ।” एन्फाका अनुसार अन्तर्राष्ट्रिय लेखा प्रणालीलाई अवलम्बन गर्दै फिफासँगको सहकार्य आर्थिक सुधारमा उपयोगी सावित भएको छ।
अध्यक्ष नेम्वाङको नेतृत्व र सचिवालयको कामकाजमाथि उठेको आलोचनाको सन्दर्भमा एन्फाले विज्ञप्तिमा उल्लेख गरेको छ, “विभिन्न पूर्वाग्रही र स्वार्थ समूहहरूले फुटबल विकासमा अवरोध ल्याउन खोजे पनि सत्यताले विजय पाएको छ।” एन्फाले आलोचनाको जवाफ कामबाट दिएको दाबी गरेको छ।
हालै सम्पन्न महिला राष्ट्रिय फुटबल टोलीको उज्वेकिस्तान भ्रमण र यू–२० महिला टोलीको बंगलादेशमा जारी साफ प्रतियोगितामा गरेको प्रदर्शन सन्तोषजनक भएको एन्फाको भनाइ छ। महिला विश्वकप २०३१ मा नेपालको सहभागिताको सम्भावना बलियो बनेको विश्वास एन्फाले व्यक्त गरेको छ।
यस्तै, पुरुष फुटबल टोलीले सिंगापुर र अफगानिस्तानमाथि हासिल गरेका ऐतिहासिक जितहरूले राष्ट्रिय टोलीप्रति विश्वास बढाएको बताइएको छ। यस्ता नतिजाले भविष्यमा अझ राम्रो प्रदर्शनको आधार तयार गरेको एन्फाको निष्कर्ष छ।
फिफाको प्रतिबन्ध हटेसँगै एन्फाले अब ग्रासरुट फुटबल, स्कुलस्तरीय प्रतियोगिता, उमेर समूहका प्रतियोगिता, महिला तथा पुरुष लिगहरू, प्रेसिडेन्ट लिग, ए डिभिजन लिगलगायतका प्रतियोगिता समयमै सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।
एन्फाले काठमाडौंमा प्रस्तावित रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले देखाएको चासो र सहयोगप्रति आभार व्यक्त गर्दै निकट भविष्यमा आफ्नै रंगशाला निर्माणको काम अघि बढाइने जानकारी दिएको छ। आर्थिक पारदर्शिता र सुशासन कायम गर्दै फिफा तथा एएफसीको निरन्तर विश्वास जित्दै जाने प्रतिबद्धता पनि एन्फाले दोहोर्याएको छ।






